काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको युवा उद्यमी मञ्च, ललितपुर च्याप्टर अध्यक्षमा फेसन डिजाइन तथा होटल व्यवसायी नितु श्रेष्ठ निर्वाचित भएकी छन्।
साउन १ मा सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारण सभा अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।
मञ्चको प्रथम उपाध्यक्षमा एल्भिस रञ्जित र द्वितीय उपाध्यक्षमा अनुकूल श्रेष्ठ नियुक्त भएका छन्। मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ।
च्याप्टरको कार्यसमिति सदस्यमा प्रकिरण श्रेष्ठ, शिखर पाण्डे, निरज अग्रवाल, जश श्रेष्ठ, पलस जोशी, अशांकशमशेर जबरा र निशान ढकाल नियुक्त भएका छन्। नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठ पदेन सदस्यका रूपमा रहन्छन्।
नवनियुक्त अध्यक्ष श्रेष्ठले स्टार्टअप उद्यमीलाई व्यावसायिक स्रोत र संरक्षण दिन इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने, उद्यमीलाई अन्तर्राष्ट्रिय संस्था र सरकारी निकायमार्फत अवसरसँग जोड्ने र सदस्य लक्षित नेतृत्व विकास तालिमलाई निरन्तरता दिने बताइन्।
महिला उद्यमीलाई स्रोत, संरक्षण र प्लेटफर्ममार्फत विशेष जोड दिने पनि उनले प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा निवर्तमान खेल मन्त्री विराजभक्त श्रेष्ठले देश बनाउने उद्यमीले नै भएकाले सरकारी निकायसँग सहकार्य गर्दै अघि बढ्न सुझाए।
च्याप्टरका नवनियुक्त प्रथम उपाध्यक्ष एल्भिस रञ्जितले स्वागत मन्तव्यका क्रममा सन् २०२१ मा १५ सदस्यबाट सुरु भएकोमा अहिले सदस्य सङ्ख्या ९० पुगेको जानकारी दिए ।































