काठमाडौँ। चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबिबिएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस गरेको छ। प्रतिवेदनमा ३५ लाख बाहेक अन्य शुल्क जस्तै परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदिमा लिन नपाइने उल्लेख छ।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा एमबिबिएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख तोक्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको हो ।
२०७४ सालमा गठन भएको आयोगको प्रतिवेदन हाल आएर मात्रै सार्वजनिक गरिएको हो ।
यस्तै बीडीएस कार्यक्रमको स्नातक तहको शुल्क अधिकतम १८ लाखभन्दा बढी लिन नपाइने समेत प्रतिवेदनमा उल्लेख छ । यसमा समेत अन्य थप शुल्क लिइन नपाइने गरी सिफारिस भएको छ ।
बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। मेडिकल कलेजहरूले भर्ना सूचनामा नै शुल्कको विवरण र विषयगत रूपमा उपलब्ध सिट सङ्ख्या अनिवार्यरुपमा खुलाउनुपर्ने समेत सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

































