काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’भएको छ। सुनकोसी गाउँपालिका–७ कान ढुङ्ग्रीमा एक समारोहबिच उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो।
प्रधानमन्त्री दाहालले टीबीएम स्विच थिचेर आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुम टारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोसी नदी किनार कानढुंगीबाट बाहिर निस्किएको थियो । सुनकोसी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुम टारदेखि सुनकोसी–७ कानढुंगीसम्म सुरुङ रहेको छ ।

लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थ्रु गर्न सफल भएको सुनकोसी–मरिण डाइभर्सन खन्न सुरु भएको १९ महिनामा सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ ।
विसं २०७९ असोज २८ गतेदेखि सुरुङ खन्ने काम आरम्भ भएकामा यसबिचमा ६ पटक अवरोध भएको थियो सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने हुँदा सुरुङ खन्ने टिबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको हो ।
उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुंगीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।
































