काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ। सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको जनाएको छ।
यस सम्बन्धमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीबीच आवश्यक सम्झौता सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
पूर्वी नेपालको पर्यटन र आतिथ्य क्षेत्रलाई लक्षित गर्दै कम्पनीले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल सञ्चालनमा ल्याइसकेको छ। यो होटल भारतको लेमन ट्रि होटल्स समूहसँगको व्यवस्थापन सहकार्यमा सञ्चालन भइरहेको छ, जसले यसलाई अन्तर्राष्ट्रिय ब्राण्डअन्तर्गतको होटलको रूपमा स्थापित गरेको छ।
होटलले व्यापारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, साथै सम्मेलन र विशेष कार्यक्रमका लागि उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। कम्पनीका अनुसार यस परियोजनाले क्षेत्रीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै भविष्यमा क्यासिनो सञ्चालन गर्ने योजना पनि रहेको जानकारी दिइएको छ।





































