काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो।
संस्थाको खराब कर्जा अनुपातमा सुधार आउनुका साथै खुद ब्याज आम्दानी बढ्दा नाफा वृद्धि भएको हो। समीक्षा अवधिमा संस्थाले १५ करोड ३६ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १३ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
गत आर्थिक वर्षमा संस्थाको चुक्तापूँजी १४.२४ प्रतिशतले वृद्धि भई ८ करोड ९५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, जगेडा कोष ५.२५ प्रतिशतले बढेर २३ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
कर्जा प्रवाहतर्फ पनि संस्थाले विस्तार गरेको छ। लघुवित्तले २१.३२ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ८८ करोड ४५ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको जनाएको छ।
यस अवधिमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) १२.८० प्रतिशतबाट घटेर १०.७८ प्रतिशतमा झरेको छ। पूँजीकोष अनुपात भने १७.३३ प्रतिशतबाट घटेर १५.७३ प्रतिशतमा कायम भएको छ। यस्तै, कस्ट अफ फण्ड ७.४८ प्रतिशतबाट बढेर ८.४५ प्रतिशत पुगेको छ।


































