काठमाडौँ । नेपाल बाल सङ्गठन (बाल मन्दिर) को जग्गा र बजेट दुरुपयोग गरिएको आरोपमा आठ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले अनाथ बालबालिकाको हितका लागि प्रयोग हुनुपर्ने स्रोतसाधन व्यक्तिगत फाइदाका लागि प्रयोग गरिएको भन्दै अभियोग लगाएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा ठगीसम्बन्धी कसुरमा मुद्दा अघि बढाइएको हो। आरोपितहरूमा संस्थाका तत्कालीन पदाधिकारी र कर्मचारीहरू समावेश छन्, जसमध्ये केही पक्राउ परिसकेका छन् भने केही फरार रहेका छन्।
अनुसन्धानले संस्थाको सम्पत्ति र कोषको अनुचित प्रयोग भएको देखाएको छ। बालबालिकाको हितका लागि छुट्याइएको रकम व्यक्तिगत खर्च, उपचार, पारिवारिक कार्य तथा सवारी साधन खरिदमा प्रयोग गरिएको उल्लेख छ। साथै संस्थाको जग्गा पारदर्शी प्रक्रिया बिना भाडामा दिइएको पनि खुलेको छ।
उक्त प्रकरणमा संलग्न मानिएकी तत्कालीन केन्द्रीय अध्यक्षको निधन भइसकेकाले उनलाई प्रतिवादी बनाइएको छैन। मुद्दा उच्चस्तरीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानका आधारमा दायर गरिएको हो।



































