सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन चर्किएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागेर २४ वर्षीय एक युवकको मृत्यु हुनुका साथै नौ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु लागू गरेको थियो।
कर्फ्युका बाबजुद सोमबार बिहान ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए। उनीहरूले टायर बाल्ने, तोडफोड तथा आगजनी गर्ने गतिविधि गरेका छन्।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रयास पर्याप्त नभएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रमुख वासुदेव घिमिरेका अनुसार सुरक्षाको उपस्थिति बढाएर अवस्था नियन्त्रणमा लिने प्रयास जारी छ।

































