सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले सहसचिवको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको हो। समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहनेछन् भने सुरक्षा निकाय र ऊर्जा मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी हुने जनाइएको छ।
आइतबार राति भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको छ।
स्थानीय स्तरमा मन्दिरमा ठूलो आवाजमा डिजे बजाउने र पोलमा राखिएको झन्डा हटाएर अर्को झन्डा राख्ने विषयमा विवाद बढ्दै झडपमा परिणत भएको प्रारम्भिक जानकारी छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार घटनाको विस्तृत छानबिनपछि थप तथ्य सार्वजनिक गरिनेछ।

































