काठमाडौँ । धितोपत्र तथा बीमा सम्बन्धी मुद्दामा मुछिएका व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौँले उच्च रकमको धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले थुनछेक बहस सकिएपछि विभिन्न आरोपसँग सम्बन्धित मुद्दामा दुवै जनासँग छुट्टाछुट्टै धरौटी रकम तोकेको हो ।
अदालतले बीमा सम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड रुपैयाँ र भट्टसँग डेढ करोड रुपैयाँ माग गरेको छ । त्यस्तै, धितोपत्रसम्बन्धी मुद्दामा अग्रवाललाई डेढ करोड र भट्टलाई एक करोड रुपैयाँ धरौटी तोकिएको छ ।
यस्तै, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसँग जोडिएको छुट्टै मुद्दामा अग्रवालसँग दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ । अदालतले करिब एक सातासम्म निरन्तर सुनुवाइ गरेपछि थुनछेक सम्बन्धी आदेश दिएको हो ।






























