काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा फाइनान्स कम्पनीहरूको नाफा उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा कम्पनीहरूले कुल ८२ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३३ प्रतिशतभन्दा बढी वृद्धि हो। गत वर्ष यही अवधिमा फाइनान्स कम्पनीहरूको नाफा करिब ३५ करोड रुपैयाँ मात्र रहेको थियो।
अध्ययन अवधिसम्म आइपुग्दा अधिकांश कम्पनी नाफामा रहेका छन् भने केही मात्र घाटामा छन्। यस वर्ष तीन कम्पनी घाटामा रहे पनि गत वर्ष भने यस्तो संख्या दोब्बर थियो।
नाफा कमाउने कम्पनीमध्ये मन्जुश्री फाइनान्स अग्रस्थानमा रहेको छ, जसले २८ करोडभन्दा बढी नाफा आर्जन गरेको छ। त्यसपछि पोखरा, आइसीएफसी, गुडविल, गोर्खाज, वेष्ट, श्री इन्भेष्टमेन्ट, गुहेश्वरी मर्चेन्ट, सेन्ट्रल, रिलायन्स, समृद्धि र मल्टिपर्पस फाइनान्सले पनि नाफा कमाएका छन्।
यता, नेपाल फाइनान्स, जानकी फाइनान्स र प्राग्रेसिभ फाइनान्स भने घाटामा रहेका छन्।
नाफा वृद्धिदरका आधारमा हेर्दा गुडविल फाइनान्स सबैभन्दा अगाडि देखिएको छ, जसको मुनाफा अघिल्लो वर्षको तुलनामा चार गुणाभन्दा बढीले बढेको छ।






































