काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित पक्षबीच भएको लामो वार्ता निष्कर्षविहीन बनेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझदेखि सुरु भएको वार्ता करिब १४ घण्टासम्म चल्दा पनि कुनै ठोस सहमति जुट्न सकेन।
वार्तामा क्षतिपूर्ति, परिवारको व्यवस्थापन तथा घटनाको छानबिन कसरी गर्ने भन्ने विषयमा प्रमुख रूपमा विवाद देखिएको थियो। पीडित पक्षले मृतकका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति, श्रीमतीलाई रोजगारी र छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग राखेको छ।
छानबिनको विषयमा झन् बढी मतभेद देखिएको छ। पीडित पक्षले घटनाको निष्पक्षता सुनिश्चित गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिएको छ भने सरकारी पक्षले प्रशासनिक छानबिनबाटै सत्यतथ्य बाहिर ल्याउन सकिने धारणा राखेको छ। घटनामा संलग्न भनिएका नगर प्रहरी र ट्राफिक प्रहरीमाथि तत्काल कारबाही गर्नुपर्ने मागमा पनि सहमति जुट्न सकेन।
वार्ताका क्रममा केही तनावसमेत देखिएको बताइएको छ। पीडित पक्षले प्रमुख जिल्ला अधिकारीबाट दबाबपूर्ण व्यवहार भएको आरोप लगाएको छ भने सरकारी पक्षले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
सहमति नहुँदा मृतक गणेश नेपालीको अन्त्येष्टि अझै हुन सकेको छैन। परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएको छ। शव हाल त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
सरकारले भने घटनाप्रति आफू संवेदनशील रहेको बताउँदै वार्ता जारी राख्ने र चाँडै समाधान निकाल्ने दाबी गरेको छ। उता पीडित पक्षले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र परिवारलाई न्याय सुनिश्चित नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ।





































