सिरहा । आन्तरिक राजस्व कार्यालय लहान, सिरहामा कार्यरत कर अधिकृत युवराज पाल घुस लिँदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई ५ लाख रुपैयाँसहित रंगेहात नियन्त्रणमा लिएको हो।
प्राप्त जानकारीअनुसार, सिरहा सुपर मार्केट प्रा.लि.को आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) का क्रममा पालले अनियमित रूपमा रकम माग गरेको आरोप छ।
कार्यालयले अडिटका क्रममा कम्पनीमाथि कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ बराबरको दायित्व देखाएको थियो। साथै थप अध्ययनपछि उक्त दायित्व अझै ३०–३५ लाख रुपैयाँले बढ्न सक्ने भन्दै कम्पनीमाथि दबाब दिइएको स्रोतको दाबी छ।
यसबीच पालले सम्पूर्ण समस्या समाधान गरिदिने आश्वासन दिँदै १२ लाख रुपैयाँ माग गरेका थिए। तर कम्पनीको आर्थिक अवस्था कमजोर रहेको जनाएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गर्न खोजिएको बताइएको छ।
बुधबार साँझतिर रकम बुझाउने योजना बनाइए पनि अन्ततः कार्यालयमै रकम लिन बोलाइएको थियो। सोही क्रममा घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

































