काठमाडौं । कीर्तिपुरस्थित सुकुमवासीका लागि बनाइएको होल्डिङ सेन्टरमा पुगेका युवा र स्वयंसेवकमाथि प्रहरीले दुर्व्यवहार तथा पक्राउ गरेको घटनाप्रति ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले कडा आपत्ति जनाएको छ।
एलाइन्सले सार्वजनिक गरेको विज्ञप्तिमा होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको अवस्था बुझ्न पुगेका प्रतिनिधिमाथि प्रहरीले दुर्व्यवहार गरेको, कुटपिट गरेको तथा कानुनी प्रक्रिया पूरा नगरी नियन्त्रणमा लिएको आरोप लगाइएको छ। सो क्रममा माजिद अन्सारीसहित केही व्यक्तिलाई पक्राउ गरिएको उल्लेख गरिएको छ।
नागरिकको अवस्थाबारे जानकारी लिनु र मानवीय सहयोग गर्नु अपराध नभएको जनाउँदै एलाइन्सले उक्त घटनालाई मानवअधिकार र लोकतान्त्रिक अभ्यासविरुद्धको कदमको रूपमा व्याख्या गरेको छ।
एलाइन्सले पक्राउ परेकाहरूको तत्काल रिहाइ, घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेको छ। साथै, विस्थापित परिवारहरूको आधारभूत आवश्यकतामा तत्काल ध्यान दिन र बल प्रयोगको नीति त्यागेर संवादमार्फत समाधान खोज्न पनि आग्रह गरिएको छ।






































