काठमाडौं । शंकास्पद आर्थिक कारोबारको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा आबद्ध कम्पनीहरूमाथि छानबिन अघि बढाएको जनाएको छ।
विभागले विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उक्त विवरण सार्वजनिक गरेको हो, जसमा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जना प्रतिवादी छन्।
उक्त विवरण अनुसार डिजी हब प्रालि र स्कलर इन्टरनेशनल प्रालिमा शंकास्पद आर्थिक कारोबार भएको देखिएको छ। यी दुवै कम्पनीमा जयवीर देउवाको लगानी रहेको दाबी गर्दै विभागले करिब २ करोड ६० लाख रुपैयाँको स्रोतबारे थप अनुसन्धान आवश्यक रहेको जनाएको छ।
विभागका अनुसार उक्त रकम हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालि मार्फत भुक्तानी गरिएको थियो, जसलाई व्यवसायी दिपक भट्ट को नियन्त्रणमा रहेको कम्पनीका रूपमा उल्लेख गरिएको छ।
आरोपपत्रमा विभागले उक्त रकम अवैध स्रोतबाट आएको हुन सक्ने आशंकासहित अनुसन्धानलाई निरन्तरता दिइने स्पष्ट पारेको छ।
यसअघि विभागले जयवीर देउवालाई उपस्थित हुन भन्दै सूचना जारी गरेको थियो। अनुसन्धान टोलीले निवासस्थलमा सूचना टाँस्नुका साथै सार्वजनिक माध्यममार्फत पनि उपस्थित हुन आह्वान गरेको थियो।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सम्पर्कमा नआएका व्यक्तिलाई निश्चित समयसीमा दिएर उपस्थित गराउने व्यवस्था रहेको छ, जसअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।






























