काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस का चार मन्त्रीले एकैसाथ पदबाट अलग हुने निर्णय गरेका छन्।
मन्त्रिपरिषद् बैठकमै उनीहरूले राजीनामा बुझाएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारी ले जानकारी दिएका छन्। कांग्रेसबाट सरकारमा आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी सहभागी थिए।
उनीहरूमध्ये मन्त्री शाह भने स्वास्थ्य उपचारका लागि विदेश जानुअघि नै पदबाट अलग हुने निर्णय गरिसकेको बताएका छन्।
कर्णाली प्रदेश सरकारको नेतृत्व अहिले नेकपा एमालेका यामलाल कँडेलले गरिरहेका छन्। कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि त्यसअनुसार कार्यान्वयन नभएको भन्दै कांग्रेस पक्षले असन्तुष्टि जनाउँदै पद त्याग गरेको जनाएको छ।































