काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। पार्टीका नेता केदार कार्कीले सभापति गगन थापामाथि गम्भीर आरोप लगाउँदै आर्थिक अनियमिततादेखि संगठन सञ्चालनसम्म प्रश्न उठाएका छन्।
४४औँ बीपी स्मृति दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले थापा विभिन्न स्रोतबाट परिचालित भएको दाबी गरे। उनले विगतमा गिरिजाप्रसाद कोइरालाले व्यक्त गरेको आशंका अहिले प्रमाणित हुँदै गएको समेत बताए।
कार्कीले एनजीओ, आईएनजीओ र सरकारी संयन्त्र प्रयोग गरेर आर्थिक लाभ लिएको आरोप लगाउँदै आवश्यक परे एक–एक हिसाब सार्वजनिक गरिने चेतावनी दिए। साथै, पार्टीभित्र पुराना नेताहरूलाई प्रयोग र उपेक्षा गरिएको आरोपसमेत उनले लगाए।
उनले वर्तमान अवस्थामा देशको अवस्था झनै गम्भीर बनेको उल्लेख गर्दै कांग्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। सभापति थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीको नैतिकता र दिशा दुवैमा प्रश्न उठाए।
यता, सरकारले बुधबार मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत सार्वजनिक गरेको छ। बैठकले विशेष अदालत र श्रम अदालतका अध्यक्ष नियुक्तिदेखि लिएर गुठी संस्थानमा नयाँ प्रशासक नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्क छुट दिने, मिटरब्याज पीडितसँग भएको सम्झौता अनुमोदन गर्ने तथा सम्बन्धित फर्जी कागजात अवैध घोषणा गर्ने निर्णय गरिएको छ।
सरकारले गणेश नेपालीको आत्महत्या प्रकरण छानबिन गर्न न्यायिक समिति गठन गरेको छ भने शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पनि गरेको छ।

































