काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले पछिल्लो समय शेयर बजारमा देखिएको निरन्तर गिरावटप्रति सरकारको आर्थिक नीति र लगानी वातावरणलाई लिएर कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बालेन नेतृत्वको सरकार गठन भएको करिब १०६ दिनको अवधिमा ३८० अंकभन्दा बढीले घटेको दाबी गरेका छन्। साथै, यस अवधिमा बजार पूँजीकरणमा झन्डै ६०० अर्ब रुपैयाँ बराबरको लगानीकर्ताको सम्पत्ति घटेको उनको भनाइ छ।
बस्नेतले शेयर बजारलाई देशको समग्र अर्थतन्त्र र लगानीकर्ताको मनोबल झल्काउने महत्वपूर्ण सूचकका रूपमा व्याख्या गर्दै स्पष्ट आर्थिक नीति, स्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरणबिना पूँजी बजारले अपेक्षित गति लिन नसक्ने बताएका छन्।
उनले नीतिगत अस्पष्टता र विश्वासको अभाव बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर बजारमा परेको उल्लेख गर्दै सरकारले भाषणभन्दा व्यवहारिक सुधारमा ध्यान दिनुपर्ने बताएका छन्। लगानीकर्ताको भरोसा बढाउने निर्णय, नीतिगत स्पष्टता र आर्थिक स्थायित्व कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ छ।
उनका अनुसार शेयर बजारको गिरावट केवल लगानीकर्तामै सीमित रहने विषय नभई समग्र अर्थतन्त्रमा समेत असर पार्ने भएकाले यसलाई सरकारले गम्भीरतापूर्वक लिन आवश्यक छ।
सामाजिक सञ्जालमा व्यक्त व्यक्तिगत धारणामा उनले वर्तमान सरकारका केही प्रमुख पात्रहरूको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउँदै ती कारणहरूले लगानीकर्ताको विश्वास कमजोर बनाएको उल्लेख गरेका छन्।































