काठमाडौं । ''मास्टर्नी'' चलचित्रको प्रवर्द्धनात्मक गीतलाई लिएर विवाद चुलिँदै गएको छ, जहाँ नेपाल शिक्षक महासंघले त्यसप्रति कडा आपत्ति जनाएको छ।
महासंघका अनुसार उक्त गीतमा महिला शिक्षकलाई लक्षित गर्दै प्रयोग गरिएका शब्द र प्रस्तुतीकरणले शिक्षण पेशाको गरिमामा असर पुर्याएको छ। यसप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महासंघले सम्बन्धित सामग्री तुरुन्तै सच्याउन वा हटाउन माग गरेको हो।
विज्ञप्तिमा गीतले विशेषगरी महिला शिक्षकको सम्मानमा आँच पुर्याउने किसिमका भाव व्यक्त गरेको उल्लेख गर्दै यस्ता सामग्रीले समाजमा नकारात्मक सन्देश प्रवाह गर्न सक्ने चेतावनी दिइएको छ।
यदि माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनी पनि महासंघले दिएको छ। साथै, यसबाट उत्पन्न हुने सम्भावित परिणामको जिम्मेवारी चलचित्र निर्माता र कलाकारहरूले नै लिनुपर्ने स्पष्ट पारिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा ले हस्ताक्षर गरेको विज्ञप्तिमा शिक्षण पेशाको मर्यादा जोगाउन सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरिएको छ।






























