काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालका पूर्वघरबेटी तथा निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीले ऋणको किस्ता नतिरेपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३५ दिनभित्र बक्यौता तिर्न अन्तिम ताकेता गरेको छ।
बैंकले सार्वजनिक गरेको ऋणीहरूको प्रारम्भिक सूचीमा ‘सिपेल इन्फ्रा–बैंक जमानत (एडभान्स पेमेन्ट)’ समावेश गरिएको छ। उक्त सूचीमा ललितपुरका शारदा प्रसाद अधिकारी, उनका छोरा नितेश अधिकारी तथा भारतीय नागरिक सबिना खनम र परविज खान साझेदारका रूपमा उल्लेख छन्।
बैंकका अनुसार पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि सावाँ, ब्याज, किस्ता र हर्जाना रकम भुक्तानीमा चासो नदेखाएपछि कानुनी प्रावधानअनुसार सूचना जारी गरिएको हो।
यसका साथै बैंकले धितो राखिएको चल–अचल सम्पत्ति लिलाम बिक्री गरी रकम असुल गर्ने र त्यसबाट पनि नपुगेमा अन्य निजी सम्पत्तिबाट समेत बाँकी रकम असुल गरिने जनाएको छ। बैंकले यसलाई अन्तिम चेतावनी मान्दै सम्बन्धित पक्षलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ।

































