काठमाडौं । विभिन्न सञ्चारगृह र सार्वजनिक स्थल वरिपरि सोमबार शंकास्पद तरिकाले सवारीसाधन राखिएको विषय प्रतिनिधिसभामा उठाइएको छ।
मंगलबारको बैठकमा नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले सञ्चारमाध्यम लक्षित गरी सवारी पार्किङ गरेर त्रास सिर्जना गर्ने प्रयास भएको टिप्पणी गरे। उनले यस्तो गतिविधिले विगतको दमनकारी शासनकालको झल्को दिने भन्दै यसको उद्देश्य र पृष्ठभूमिबारे निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए।
यसै विषयमा नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले पनि नियमविपरीत पार्किङमा सरकारी संरक्षण भएको आरोप लगाए।
उनले अनियन्त्रित पार्किङका कारण न्यूरोड क्षेत्र अव्यवस्थित बनेको उल्लेख गर्दै कडा कारबाहीको माग गरे।
मल्लले सामान्य जरिवानाले यस्तो गतिविधि नियन्त्रण नहुने भन्दै नियम उल्लंघन गर्ने सवारीसाधनलाई उच्च जरिवाना लगाउने र आवश्यक परे जफतसमेत गर्नुपर्ने धारणा राखे।































