काठमाडौँ । राहदानी विभागले सेवा प्रवाहलाई थप सहज बनाउन नयाँ प्रणाली लागू गरेको छ। विभागका अनुसार नयाँ प्रविधिमार्फत छापिएका राहदानीहरू असार २९ गतेदेखि सेवाग्राहीले प्राप्त गर्न थालेका छन्।
त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै राहदानी छपाइ गरी वितरण सुरु गरिएको जनाएको छ। राहदानी लिन, नवीकरण गर्न वा अन्य कारणले नयाँ बनाउन चाहने सेवाग्राहीले आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग वा विदेशस्थित नेपाली नियोगमार्फत पहिलेजस्तै सेवा लिन सक्ने व्यवस्था यथावत रहेको विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब तीन महिना लाग्न सक्ने भएकाले सुरुआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्नेछ। तथापि, सेवा प्रवाह नियमित र सहज बनाइने अपेक्षा गरिएको छ।





































