काठमाडौँ । संघीय संसद्का सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने प्रक्रिया तीव्र बनाएका छन्। नियुक्त भएका स्वकीय सचिवहरूको विवरण संघीय संसद् सचिवालयमा बुझाउने क्रम सुरु भइसकेको छ।
यसपटक स्वकीय सचिव बन्न न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ। संसद् सचिवालयका अनुसार नियुक्तिसम्बन्धी आवश्यक कागजात र विवरण प्राप्त हुने क्रम जारी रहेको छ।
साउन ४ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार स्वकीय सचिवको न्यूनतम योग्यता नेपाल सरकारका सोही तहका कर्मचारीका लागि तोकिएको योग्यतासरह हुनुपर्ने उल्लेख छ। स्वकीय सचिवको पद राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत वा सोसरहको हुने भएकाले सो पदका लागि स्नातक तह अनिवार्य गरिएको हो।
राजपत्रमा सूचना प्रकाशित भएसँगै सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्ने बाटो खुलेको थियो। नियुक्तिपछि सांसदहरूले तोकिएको फाराम भरी संसद् सचिवालयमा बुझाउनुपर्ने व्यवस्था छ।
संसद् सचिवालयले ‘स्वकीय कर्मचारी र परिचारक नियुक्तिका लागि भर्नुपर्ने फाराम विवरण’ आफ्नो वेबसाइटमार्फत उपलब्ध गराएको छ। सांसदहरूले महासचिवलाई सम्बोधन गरी स्वकीय सचिव नियुक्त गरेको जानकारी दिनुपर्नेछ।
उक्त फाराममा नियुक्त व्यक्तिको व्यक्तिगत विवरण जस्तै नाम, जन्ममिति, फोटो, लैंगिकता, नागरिकता नम्बर, नागरिकता जारी जिल्ला, स्थायी तथा अस्थायी ठेगाना र शैक्षिक योग्यता उल्लेख गर्नुपर्नेछ।
यसका साथै, नियुक्ति मिति, पद, पारिश्रमिक प्राप्त गर्ने बैंकको नाम, खाता नम्बर, स्थायी लेखा नम्बर (PAN), मोबाइल नम्बर तथा वैवाहिक अवस्थासमेत खुलाउनुपर्नेछ।
सांसदहरूले स्वकीय सचिवको परिचयपत्र बनाउन र पारिश्रमिक उपलब्ध गराउने व्यवस्था मिलाउन सचिवालयसँग अनुरोध गर्नुपर्नेछ। स्वकीय सचिव परिवर्तन वा पदबाट हटाइएको अवस्थामा समेत सम्बन्धित विवरण सचिवालयमा बुझाउनुपर्नेछ।
संसद् सचिवालयले प्राप्त विवरणको परीक्षण गरी अभिलेख राख्ने तथा कानुनबमोजिम पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जनाएको छ।


































