काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व नवयुवराज हृदयन्द्र वीरविक्रम शाहलाई जन्मदिनको शुभकामना दिँदै भविष्यको जिम्मेवारीका लागि तयार रहन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै मिश्रले हृदयन्द्रलाई ‘सरकार’ सम्बोधन गरेका छन् । उनले हृदयन्द्रले विश्वकै कठिन जिम्मेवारीमध्ये एक सम्हाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक, भावनात्मक र बौद्धिक रूपमा तयारी गर्न सुझाव दिएका हुन् ।
मिश्रले हृदयन्द्रको शालीनता र गरिमाको प्रशंसा गर्दै समय आएपछि गद्दीमा आसीन हुनुपर्ने दिन आउन सक्ने उल्लेख गरेका छन् ।
उनले नेपालको वर्तमान राजनीतिक अवस्था र भूराजनीतिक संवेदनशीलताको चर्चा गर्दै राजसंस्था पुनर्स्थापना आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन् । मिश्रले राजसंस्था नभएकै कारण देशमा बाह्य प्रभाव बढेको र राजनीतिक अस्थिरता निम्तिएको दाबी गरेका छन् ।
उनले विगतका राजनीतिक घटनाक्रम उल्लेख गर्दै नेपालजस्तो संवेदनशील मुलुकमा राजसंस्थाको भूमिका आवश्यक रहेको तर्क गरेका छन् ।
मिश्रले ‘विचारभन्दा माथि देश’ र ‘देशका लागि नरेश’ भन्ने अवधारणालाई जोड दिँदै मुलुकको संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन् । उनले त्यसो नगरिए देश गम्भीर संकटतर्फ जान सक्ने चेतावनीसमेत दिएका छन् ।
































