काठमाडौं । सिलबन्दी पानीजस्तो सुरक्षित मानिने वस्तुमा नै छेपारो भेटिएपछि लहानमा हंगामा मच्चिएको छ। घटनापछि सम्बन्धित कम्पनीमाथि कडा कारबाही गर्दै प्रशासनले जरिबाना समेत लगाएको छ।
सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको ‘ऋषि जल’ नामक पानीको बोतलभित्र छेपारो फेला परेपछि केवी एण्ड सन्स नेपाल कम्पनीलाई इलाका प्रशासन कार्यालय लहानले २ लाख रुपैयाँ जरिबाना गरेको हो।
उक्त घटना सार्वजनिक भएपछि उपभोक्ताबाट गुनासो आएलगत्तै प्रशासनले अनुगमन गरेको थियो।
प्रशासनले बजारमा पठाइएका सोही ब्याचका सबै पानीका बोतल तत्काल फिर्ता लिन निर्देशन दिएको छ। साथै, भविष्यमा यस्ता त्रुटि दोहोरिए अझ कडा कदम चालिने चेतावनी समेत दिइएको छ।
मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित वस्तुमा यस्तो लापरवाही देखिएपछि उपभोक्तालाई सचेत रहन र कुनै समस्या देखिएमा तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।


































