काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको कर्मचारी तलब वृद्धि साउन १ गतेदेखि लागू हुने भएको छ।
नयाँ व्यवस्थाअनुसार निजामतीसहित सार्वजनिक सेवामा कार्यरत कर्मचारीको आधारभूत तलब १० प्रतिशतले बढाइएको छ। साथै कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली सुरु गर्दै मासिक १० प्रतिशत प्रोत्साहन भत्ता पनि थप गरिएको छ, जसका कारण कुल पारिश्रमिक वृद्धि करिब २१ प्रतिशतसम्म पुग्ने देखिएको छ।
उच्च पदस्थ कर्मचारीहरूमा मुख्यसचिवको आधारभूत तलब करिब ८५ हजार रुपैयाँ नजिक पुगेको छ भने भत्ता जोड्दा मासिक आम्दानी झन्डै ९८ हजार रुपैयाँ पुग्नेछ।
तल्लो तहका कर्मचारी, जस्तै कार्यालय सहायकको आधारभूत तलब करिब ३० हजार रुपैयाँभन्दा माथि पुगेको छ। उनीहरूले यसअघि पाइरहेको महँगी भत्ता निरन्तर पाउनेछन् भने थप प्रोत्साहन भत्ता पनि उपलब्ध हुनेछ।
पेन्सनधारी कर्मचारीका हकमा भने बढेको आधारभूत तलबको दुई तिहाइ हिस्सा मात्र समायोजन गरिने व्यवस्था गरिएको छ।
२०७९ सालपछि पहिलो पटक तलब समायोजन गरिएको हो। त्यसयता सरकारले महँगी भत्तामार्फत मात्र राहत दिएको थियो।
नयाँ तलब संरचना निजामती सेवासँगै सुरक्षा निकाय, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीमा पनि समान अनुपातमा लागू हुने बताइएको छ। विस्तृत तलबमान र सुविधा सम्बन्धी विवरण भने सरकारले पछि सार्वजनिक गर्नेछ।
यसअघि तलब सुविधा आयोगले न्यूनतम तलब वृद्धि र संरचनात्मक सुधारका लागि सुझाव दिएको भए पनि ती सिफारिस पूर्ण रूपमा कार्यान्वयन भएका छैनन्। हालको निर्णयले भने कर्मचारीको आयमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ।
कुन तहको कति पुग्यो ?
































