काठमाडौं । राजधानीको बौद्ध क्षेत्रका एक कपडा व्यवसायीले घरबाट हामफालेर ज्यान गुमाएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कामपा–७, चुच्चेपाटीस्थित आफ्नै घरको माथिल्लो तलाबाट सोमबार साँझ हामफाल्दा नवीन अग्रवालको मृत्यु भएको हो।
प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले घटनापछि उद्धार गरी उपचारका लागि लैजाँदा उनको ज्यान गएको जानकारी दिए। अग्रवाल भारतबाट कपडा आयात गरेर काठमाडौंमा थोक व्यापार गर्दै आएका थिए, उनको पसल बौद्धमै रहेको बताइएको छ।
पारिवारिक स्रोतका अनुसार पछिल्लो समय व्यापारमा आएको मन्दीका कारण उनी आर्थिक दबाबमा थिए। साथै, उच्च रक्तचाप र मधुमेहसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्याका लागि औषधि सेवन गरिरहेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

































