बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद उत्पन्न भएको छ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अन्य करिब ६० जना हतियारसहित एसएसबीका सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेका थिए। उनीहरूले सुस्ता गाउँपालिका–५ को थारु टोलमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको बाँध भत्काएको स्थानीयले बताएका छन्।
भारतीय सुरक्षाकर्मीले बाँध भत्काएपछि स्थानीयबासीले विरोध जनाएका छन्।
स्थानीयले रोक्ने प्रयास गरे पनि सुरक्षाकर्मी हतियारसहित आएकाले प्रत्यक्ष रूपमा रोक्न नसकिएको र त्यसक्रममा विवाद भएको बताइएको छ।
यसअघि पनि गत असार महिनामा भारतीय सुरक्षाकर्मी सो क्षेत्रमा प्रवेश गरी बाँध निर्माण कार्य रोक्न दबाब दिएका कारण काम अवरुद्ध भएको थियो।
सुस्ता क्षेत्र नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमाक्षेत्रका रूपमा परिचित छ। स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक–पटकको हस्तक्षेपका कारण त्यहाँ विवाद दोहोरिँदै आएको छ।
घटनापछि सम्भावित अप्रिय अवस्था नियन्त्रण गर्न नेपालतर्फबाट सशस्त्र प्रहरी बल घटनास्थलमा खटिएको छ।
































