काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टको पुनर्नियुक्ति सम्बन्धी आफ्नो अघिल्लो निर्णय फिर्ता लिएको छ। साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय रद्द गरेको जनाएको हो।
यसअघि असार ३१ गतेको बैठकले विष्टलाई चार वर्षे दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गरिएको करार सम्झौता समेत कम्पनीले खारेज गरेको छ।
यद्यपि, विष्टले आफ्नो वर्तमान कार्यकाल समाप्त हुने साउन ८ गतेसम्म पूर्ववत् रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
कम्पनीले नयाँ सीईओ नियुक्त नभएसम्मका लागि कामु नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ।

































