काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका मागहरू तत्काल सम्बोधन नगरे देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएको छ। महासंघले सरकारप्रति असन्तुष्टि जनाउँदै साउन १६ र १७ गते काठमाडौंमा हुने तेस्रो राष्ट्रिय परिषद् बैठकबाट आन्दोलनको स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने जानकारी दिएको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको वक्तव्यमा शिक्षक र कर्मचारीका सेवा–सुविधा, पेशागत सुरक्षा तथा ट्रेड युनियन अधिकारमा सरकार गम्भीर नदेखिएको उल्लेख गरिएको छ। साथै, देशभरका शिक्षक तथा कर्मचारीलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
बजेटमा उल्लेख गरिएको प्रोत्साहन भत्ता कार्यान्वयनमा अन्योल देखिएको भन्दै महासंघले शिक्षा मन्त्रालयसँग स्पष्ट धारणा माग गरेको छ। नयाँ तलबमान, विद्यालय कर्मचारी तथा अस्थायी, राहत र बालविकास शिक्षकका सुविधासम्बन्धी विषयमा पनि सरकार उदासीन रहेको आरोप लगाइएको छ।
यस्तै, नयाँ शिक्षकलाई तीन वर्षसम्म सरुवा गर्न नपाइने व्यवस्था अन्यायपूर्ण भएको भन्दै त्यसको खारेजी माग गरिएको छ। महासंघले उक्त प्रावधानले शिक्षकको व्यक्तिगत र पेशागत जीवनमा नकारात्मक असर पार्ने जनाएको छ।
महासंघले शिक्षा क्षेत्रसँग सम्बन्धित विगतका सहमति कार्यान्वयन गर्न, ट्रेड युनियन अधिकार सुनिश्चित गर्न तथा शिक्षकमैत्री शिक्षा ऐन ल्याउन सरकारलाई आग्रह गरेको छ। माग सम्बोधन नभए थप कडा आन्दोलन घोषणा गरिने चेतावनी समेत दिएको छ।

































