काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबभत्ता भुक्तानीका लागि विनियोजित बजेट अपुग भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तहलाई तत्काल आवश्यक बजेट व्यवस्थापन गर्न निर्देशन दिएको छ।
केन्द्रका निर्देशक निलकण्ठ ढकालले असार १६ गते जारी गरेको पत्रमा आर्थिक वर्ष २०८२/८३ का लागि शिक्षकहरूको तलबभत्तामा वित्तीय हस्तान्तरण गरिएको बजेट पर्याप्त नभएकाले उपलब्ध बजेट शीर्षकबाट तत्काल व्यवस्थापन गरी तलब भुक्तानी गर्न आग्रह गरिएको उल्लेख छ।
पत्रअनुसार आधारभूत र माध्यमिक तहका लागि छुट्याइएका बजेट उपशीर्षकमध्ये कुनै एक शीर्षकमा बचत भए स्थानीय तहको निर्णयमार्फत अर्को शीर्षकमा अपुग रकम व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ।
केन्द्रले स्थानीय तहबाट माग आएपछि अपुग हुने शिक्षक तलबभत्ताका लागि सम्बन्धित बजेट शीर्षकमा थप वित्तीय हस्तान्तरण गर्ने जनाएको छ।
यस्तै, प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता तथा विद्यालय कर्मचारीहरूको पारिश्रमिक अनुदानसम्बन्धी व्यवस्थाबारे पनि पत्रमा उल्लेख गरिएको छ। उनीहरूको पारिश्रमिकका लागि आवश्यक अनुदानको आधा रकम सम्बन्धित स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिसकिएको केन्द्रले जनाएको छ।
केन्द्रको यस निर्देशनसँगै बजेट अभावका कारण शिक्षकहरूको तलबभत्ता भुक्तानीमा देखिएको अन्योल हट्ने अपेक्षा गरिएको छ।




































