काठमाडौं । मजदूर चालक स्वतन्त्र संघर्ष समितिले सरकारले आफूहरुको माग सम्बोधन नगर्दा ट्याक्सी व्यवसाय धरासायी बनेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै समितिले यस्ताे बताएको हो ।
समितिले आफूहरुका विभिन्न ७ बुँदे माग सार्वजनिक गर्र्दै अब सरकारले गम्भीरतापूर्वक सम्बोधन नगरे संघर्षमा जाने चेतावनी दिएको छ ।
नेपाल राष्ट्रिय ट्याक्सी मिटर व्यसायी तथा चालक सेवा समाजका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम पाण्डेले आफूहरुको मागलाई सरकारले गम्भीरतापूर्वक नलिँदा ट्याक्सी पेशा धरापमा परेको बताए ।
उनले अहिले पठाओ, इनड्राईभ लगायतका विभिन्न किसिमका एप्सहरुले ट्याक्सी व्यवसायलाई धरापमा पुर्याएको बताए । महानगरले पार्किङको पनि उपयुक्त व्यवस्थापन गर्न नसकेको उनले बताए ।
उनले ट्याक्सी व्यवसायी र चालकको समस्याका बारेमा प्रधानमन्त्री र गृहमन्त्री र यातायात मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताए ।
साथै उनले ट्याक्सी व्यसायीको माग सम्बोधन नभए असोज १७ गतेबाट अनसन सुरु गर्ने चेतावनी दिए । आफूले रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु ओसारेमा कारबाही गर्न ट्राफिक महाशाखामा उजुरी दिएको समेत बताए ।
त्यस्तै, नेपाल राष्ट्रिय ट्याक्सी मिटर व्यसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले मापदण्डविपरीत निजी गाडीले यात्रु ओसारेको भन्दै आपत्ति जनाए ।
पठाओ र इनडाईभ लगायतका एप प्रयोग गरी यात्रा गर्दा यात्रुहरुले ट्याक्सीको भन्दा पनि बढि भाडा तिर्नुपरेको भन्दै यसको नियन्त्रण र नियमन गर्न सरकारसमक्ष आग्रह पनि गरे ।

































