काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।
लामो समय अखबारी पत्रकारिता गरेका उनी कथाका लागि चर्चित थिए । राजनीतिक एवं सामाजिक विसंगतिप्रति कडा आलोचकीय दृष्टिकोण उनका कथाहरुमा पाइन्थ्यो ।
पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सल्लाहाकार समेत रहेका पराजुलीले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरी लगायतका अनलाइनमा पनि काम गरेका थिए ।































