काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको छ।
बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीसमेत रहेका शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनीत गरिएको हो।
बैठकले सुनसरीलगायत जिल्लामा पछिल्ला घटनाक्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
महामन्त्री आचार्यका अनुसार बैठकमा वडा तहदेखि केन्द्रसम्म सम्पन्न पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनका विभिन्न पक्षबारे विस्तृत समीक्षा गरिएको छ। लोकतान्त्रिक अभ्यासका क्रममा भएका कमजोरीलाई स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई थप सुदृढ र परिपक्व बनाउने उद्देश्यले महाधिवेशन प्रक्रियाको बृहत् अध्ययन गर्ने निर्णयसमेत गरिएको छ।
रास्वपाले गठन गर्यो पार्टी सचिवालय
केन्द्रीय समिति बैठकले पार्टी विधानको भाग ६ को धारा २३ अनुसार ‘पार्टी सचिवालय’ गठन गरेको छ।
सचिवालयमा पार्टी सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सह–महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्।
बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई थप जनमुखी बनाउन र पार्टीसँगको समन्वय प्रभावकारी बनाउन महिनामा कम्तीमा एक दिन मन्त्रीहरूले पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूसँग अनिवार्य छलफल गर्ने निर्णय गरेको छ।
आत्महत्या र आत्मदाहसम्बन्धी सामग्री सामाजिक सञ्जालमा नहाल्न निर्देशन
रास्वपाले आत्महत्या र आत्मदाहसम्बन्धी घटनाका समाचार वा जानकारी सामाजिक सञ्जालमा सेयर नगर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
सामाजिक सञ्जाल निर्देशिकाअनुसार यस्ता संवेदनशील विषयमा सामाजिक उत्तरदायित्व र संवेदनशीलतालाई ध्यान दिँदै पार्टीका सबै तहका सदस्यलाई आत्महत्या र आत्मदाहसम्बन्धी सामग्री कुनै पनि सामाजिक सञ्जालमार्फत सम्प्रेषण नगर्न निर्देशन जारी गरिएको महामन्त्री आचार्यले बताए।
































