काठमाडौं । नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडको विरोधमा आज पनि देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
सङ्घले दोषीलाई कानुनी कारबाही गर्न सरकारले आवश्यक पहल नगरेको भन्दै बुधबारदेखि देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सबै सेवा स्थगित गरेको हो।
सङ्घका अनुसार घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाही नगरिएको मात्र होइन, न्यायको माग गर्दै गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहारसमेत भएको छ, जसलाई सङ्घले निन्दनीय र लज्जास्पद भनेको छ।
आन्दोलनका कार्यक्रमअनुसार आज बिहान १० बजे काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्नेछन्।





































