National life

बर्डफ्लु नियन्त्रणमा आएपछि अण्डा र कुखुराको मासु महँगियो, बजारमा खपत पनि बढ्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१३ साउन २०८३, बुधबार
817Shares
बर्डफ्लु नियन्त्रणमा आएपछि अण्डा र कुखुराको मासु महँगियो, बजारमा खपत पनि बढ्दै
ncell

चितवन। केही महिनादेखि नेपाली पोल्ट्री उद्योगलाई ठूलो संकटमा पारेको बर्डफ्लु संक्रमण नियन्त्रणमा आएपछि अण्डा, कुखुराको मासु र चल्लाको बजार विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। खपत बढ्न थालेसँगै उत्पादन अझै पूर्ण रूपमा पुनःस्थापित हुन नसक्दा बजार मूल्य पनि उकालो लाग्न थालेको हो।

नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ। फार्महरूको दररेटलाई आधार बनाएर ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढाउँदै ५३० रुपैयाँ कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि ठूलो अण्डाको मूल्य ५०० रुपैयाँ थियो। त्यस्तै मिडियम अण्डा प्रतिक्रेट ४७० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी (सात क्रेट) दुई हजार ९०० रुपैयाँबाट तीन हजार रुपैयाँ निर्धारण गरिएको छ। एक्सएल अण्डाको मूल्य पनि ५१५ रुपैयाँबाट बढेर ५४५ रुपैयाँ पुगेको छ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लु नियन्त्रणमा आएपछि उपभोक्ताको विश्वास बढ्दै खपत उल्लेखनीय रूपमा वृद्धि भएको छ। तर उत्पादन अझै पुरानै अवस्थामा फर्किन नसक्दा बजारमा आपूर्ति कम भएकाले समर्थन मूल्य बढाउनुपरेको उनले बताए।

बर्डफ्लु फैलिएका बेला ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६५ रुपैयाँबाट घटेर ४५० रुपैयाँसम्म झरेको थियो। अहिले मूल्य बढे पनि किसानले अझै लागत बराबरको आम्दानी पाउन सकेका छैनन्। सङ्घका अनुसार एउटा अण्डाको उत्पादन लागत करिब १९.१२ रुपैयाँ पर्ने भएकाले किसानले प्रतिक्रेट कम्तीमा ५७३.६० रुपैयाँ पाएपछि मात्रै लागत उठ्ने अवस्था हुन्छ।

बर्डफ्लुको प्रभावले पोल्ट्री उद्योगले ठूलो क्षति व्यहोरेको छ। सङ्घका अनुसार करिब १० लाख लेयर्स कुखुरा बर्डफ्लु र एच–नाइन संक्रमणका कारण मरेका छन्। चैतदेखि असारसम्म दैनिक अण्डा उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको थियो। अर्थात् दैनिक करिब १५ लाख अण्डाको उत्पादन घट्दा किसानले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ।

अण्डासँगै कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ। अहिले ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा ७० रुपैयाँ पुगेको छ। संक्रमणको चरम समयमा ह्याचरी उद्योगीहरूले चल्ला नष्ट गर्नुपर्ने अवस्था आएपछि प्रतिगोटा १५ रुपैयाँमै बिक्री गर्न बाध्य भएका थिए।

ह्याचरी उद्योग सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको उत्पादन लागत प्रतिगोटा ६५ रुपैयाँ छ भने लेयर्स चल्लाको लागत १२५ रुपैयाँ पर्छ। अहिले लेयर्स चल्ला प्रतिगोटा १५० रुपैयाँमा बिक्री भइरहेको छ। हाल सातामा २८ देखि ३० लाख ब्रोइलर चल्ला र करिब एक लाख लेयर्स चल्ला उत्पादन भइरहेको छ। बर्डफ्लु फैलिनुअघि भने सातामा ४० देखि ४५ लाखसम्म ब्रोइलर चल्ला उत्पादन हुने गरेको थियो।

कुखुराको मासुको बिक्री पनि क्रमशः सुधार हुँदै गएको छ। संक्रमणअघि दैनिक करिब नौ लाख किलो बिक्री हुने मासु बर्डफ्लुको समयमा घटेर पाँच लाख किलोमा झरेको थियो। अहिले दैनिक बिक्री सात लाख किलोसम्म पुगेको छ। किसानले ब्रोइलरको जिउँदो कुखुरा प्रतिकिलो २६० रुपैयाँमा बिक्री गर्ने गरेका थिए। संक्रमणका बेला मूल्य १५० रुपैयाँसम्म झरेको थियो भने अहिले फेरि बढेर २१५ रुपैयाँ पुगेको छ।

लामिछानेका अनुसार बर्डफ्लुले पोल्ट्री उद्योगलाई अर्बौं रुपैयाँको क्षति पुर्‍याएको छ। अहिले उद्योगमा भएको वास्तविक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए।

उता पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन। पछिल्लोपटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजल क्षेत्रमा संक्रमण देखिएको थियो। विभागका अनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरेको थियो। नेपालमा पहिलोपटक यस चरणको संक्रमण मोरङको उर्लाबारी–८ र सुन्दरहरैंचा–४ मा देखिएको थियो।

विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार संक्रमण नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ। त्यस्तै ११ लाख ६५ हजार ६६३ वटा अण्डा तथा दुई लाख ४५ हजार ३५ किलो दाना पनि नष्ट गरिएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको विभागको तथ्यांकमा उल्लेख छ।

बर्डफ्लु नियन्त्रणमा आएसँगै बजारमा उपभोक्ताको विश्वास पुनः फर्किन थालेको छ। तर उत्पादन अझै पुरानै अवस्थामा नपुगेकाले आगामी केही समय अण्डा र कुखुराको मासुको मूल्य उच्च रहने सम्भावना देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?