पोखरा — व्यावसायिक योजना र दीर्घकालीन सञ्चालन रणनीतिबिना निर्माण तथा स्तरोन्नति गरिएका गण्डकी प्रदेशका चार विमानस्थल अहिले प्रयोगविहीन अवस्थामा पुगेका छन् । राज्यले करोडौँ रुपैयाँ लगानी गरे पनि बागलुङको बलेवा, ढोरपाटन, गोरखाको पालुङटार र मनाङको हुम्डे विमानस्थल सञ्चालनमा आउन नसक्दा लगानी प्रतिफलविहीन बनेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो विवरणअनुसार यी चारै विमानस्थल लामो समयदेखि बन्द अवस्थामा छन् । कतिपय विमानस्थलका धावनमार्ग कालोपत्र गरिएका छन् भने आवश्यक भौतिक संरचना निर्माण भए पनि नियमित उडान नहुँदा ती संरचना प्रयोगविहीन बनेका छन् ।
सरकारले केही बन्द विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङजस्ता साहसिक पर्यटनका गतिविधिमा प्रयोग गर्ने योजना अघि सारे पनि त्यसले मूर्तरूप लिन सकेको छैन ।
बलेवा विमानस्थलमा करोडौँ खर्च, उडान भने रोकियो
बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलमा प्राधिकरणले पाँच वर्षअघि रु आठ करोड २४ लाख खर्चेर धावनमार्ग कालोपत्र गरेको थियो । विसं २०२२ मा निर्माण भएको यो विमानस्थल पोखरा–बागलुङ सडक निर्माण भएपछि विसं २०४८ देखि बन्द भएको थियो ।
विसं २०७४ चैत ९ गते पुनः सञ्चालनमा ल्याइएको बलेवा विमानस्थलमा केही समय नेपाल एयरलाइन्स र तारा एयरका ट्विनअटर जहाजले हप्तामा दुई दिन उडान गरेका थिए । यात्रु संख्या घट्दै गएपछि र नगरपालिकाले यात्रुको न्यून संख्या भएबापत बेहोर्नुपर्ने आर्थिक भार बढेपछि सेवा बन्द भयो ।
विमानस्थलको ७०० मिटर लामो र ३० मिटर चौडा धावनमार्ग साना तथा मझौला जहाज सञ्चालनका लागि उपयुक्त रहेको अध्ययनले देखाएको थियो । तर नियमित उडान, जनशक्ति र यात्रुको सुनिश्चितता हुन नसक्दा विमानस्थल पुनः सञ्चालनमा आउन सकेको छैन ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थललाई उपयोगमा ल्याउन सङ्घ सरकारले स्पष्ट योजना बनाउनुपर्ने बताए । राज्यको लगानी खेर जान नदिन वैकल्पिक प्रयोग भए पनि अघि बढाउनुपर्ने उनको भनाइ छ ।
हुम्डे विमानस्थलमा परीक्षण उडानपछि पनि भएन निरन्तरता
मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको पनि डेढ दशक पुग्न लागेको छ । प्राधिकरणले विसं २०६९ मा रु नौ करोड खर्चेर धावनमार्ग कालोपत्र गरेको थियो ।
विसं २०७६ भदौमा समिट एयरले गरेको परीक्षण उडान सफल भए पनि नियमित उडान सुरु हुन सकेन । गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार वायुसेवा कम्पनीले नियमित उडानमा चासो नदेखाएपछि स्थानीय तहले समेत बजेट छुट्याउन छाडेको छ ।
विसं २०३९ देखि २०६८ सम्म नियमित सञ्चालनमा रहेको हुम्डे विमानस्थल मनाङमा सडक पुगेपछि बन्द भएको थियो । सडक सञ्जाल विस्तारसँगै हवाई सेवाको आवश्यकता घटेपछि विमानस्थल प्रयोगविहीन बनेको हो ।
पालुङटार र ढोरपाटन पनि उडानविहीन
गोरखाको पालुङटार विमानस्थल विसं २०१८ मा सञ्चालनमा आएको थियो । पृथ्वी राजमार्ग निर्माण भएपछि विसं २०३५ देखि यो विमानस्थल बन्द छ ।
पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले विमानस्थललाई हवाई तालिम केन्द्र वा अन्य वैकल्पिक प्रयोजनमा प्रयोग गर्न सकिने बताए । सडक यातायातको विस्तारसँगै नियमित हवाई सेवा सञ्चालनको सम्भावना कमजोर बनेको उनको भनाइ छ ।
बागलुङको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ । देशकै एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा रहेको विमानस्थलको धावनमार्ग अहिले गौचरणका रूपमा प्रयोग भइरहेको छ । विमानस्थल क्षेत्रलाई भने घेराबार गरेर सुरक्षित राखिएको छ ।
करोडौँ लगानी संरक्षणविहीन
नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधार निर्माण तथा सुधारमा हुम्डे विमानस्थलमा करिब रु १० करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटनमा रु दुई करोड खर्च भएको छ ।
सडक पहुँच नहुँदा कुनै समय यात्रु तथा सामान ढुवानीका लागि महत्वपूर्ण रहेका यी विमानस्थल अहिले प्रयोगविहीन बनेका छन् । स्थानीय तहले सञ्चालन वा वैकल्पिक उपयोगको माग गर्दै आए पनि सङ्घीय तहबाट स्पष्ट नीति र योजना बन्न नसक्दा राज्यको ठूलो लगानी अलपत्र परेको छ ।

































