National life

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१४ साउन २०८३, बिहिबार
948Shares
प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)
ncell

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा लगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन् । उनले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिने स्पष्ट पारेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गरे । साथै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए ।

प्रधानमन्त्रीका अनुसार घटना भएलगत्तै सुरक्षा निकाय घटनास्थलमा परिचालन भई अवस्था नियन्त्रणमा लिन, थप अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सक्रिय रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गृह मन्त्रालयले घटनाको छानबिनका लागि समिति गठन गरिसकेको उल्लेख गर्दै उनले छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाए ।

उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने र जनधनको थप क्षति हुन नदिन सरकार निरन्तर क्रियाशील रहेको बताए। स्थानीय तहमा विश्वासको वातावरण निर्माण गर्न आवश्यक सबै प्रयास भइरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले परिस्थिति सामान्यीकरणका लागि केन्द्रमा सर्वदलीय बैठक बोलाएर छलफल गरिएको तथा स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा र समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर पीडित पक्षसँग भेटघाट तथा सुरक्षा अवस्थाको अनुगमन गरिरहेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट पनि आवश्यक निर्णय भइसकेको उनले बताए ।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न प्रधानमन्त्रीले सबैमा आग्रह गरे । सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना मात्रै विश्वास गर्न पनि उनले अनुरोध गरे ।

प्रत्येक नागरिकको जिउधनको रक्षा, सामाजिक सद्भाव कायम राख्नु र शान्ति सुरक्षा सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले शान्ति भंग गर्ने, अराजकता फैलाउने तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिए ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक अधिकार दिएको स्मरण गराउँदै उनले सरकार उक्त संवैधानिक अधिकारको संरक्षणमा प्रतिबद्ध रहेको बताए। कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने उल्लेख गर्दै सबै धर्मको मूल सन्देश करुणा, दया, प्रेम र शान्ति रहेको उनले बताए ।

प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको दुखद घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा अन्य क्षेत्रमा प्रतिशोधको भावना फैलाउनु कुनै पनि दृष्टिकोणबाट उचित नहुने धारणा राखे ।

सम्बोधनको अन्त्यमा उनले सबै नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक समुदाय तथा सञ्चारमाध्यमलाई धैर्यता, संयमता र जिम्मेवारीका साथ शान्ति, सद्भाव, भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न अपिल गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
948SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?