जनकपुरधाम - सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच आठबुँदे सहमति भएको छ ।
मृतकका परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठबुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने तथा शव बुझेर शनिबार नै दाहसंस्कार गरिने उल्लेख छ । दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि सहमतिमा समेटिएको गृहमन्त्री गुरुङले बताए ।
शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए ।
घटनाको निष्पक्ष अनुसन्धान हुनेमा स्थानीय र पीडित परिवार कसरी विश्वस्त हुने भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरिएको बताए । उनका अनुसार सुनसरी र सिरहाका घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको छ । समितिले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै पीडित परिवार र आमजनतालाई निष्पक्ष अनुसन्धान भएको अनुभूति गराउने विश्वास उनले व्यक्त गरे ।
गृहमन्त्री गुरुङले आफू स्वयम् घटनाको अनुगमन गरिरहेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने बताए । यद्यपि, २३ र २४ भदौको जेन–जी आन्दोलनमा मृत्यु तथा घाइते भएका व्यक्तिहरूले अझै न्याय नपाएको विषयमा सञ्चारकर्मीले उठाएको प्रश्नको भने गृहमन्त्री गुरुङले जवाफ नदिई त्यहाँबाट प्रस्थान गरेका थिए ।
सुनसरीमा के भएको थियो ?
१० साउनमा सुनसरीको देवानगञ्ज– ३, कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ गइरहेका दुई समूहबीच विवाद भएपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको तथा अवस्था नियन्त्रणबाहिर गएपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
प्रहरीको गोली लागेर देवानगञ्ज– ३ का २४ वर्षीय ओमप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा आठ जना प्रदर्शनकारी तथा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइतेमध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरीको घटनापछि मधेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किएको थियो । त्यसैक्रममा सिरहाको गोलबजारमा भएको प्रदर्शन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । उक्त घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका थिए ।



































