काठमाडौं। पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा ठूलो हिमपहिरो गएपछि नेपाली चर्चित पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्।
बिहीबार बिहान करिब ९ः२० बजे ब्रड पिकमा हिमपहिरो गएको बताइएको छ।
त्यतिबेला आरोहीहरूको ठूलो टोली शिखरतर्फ अघि बढिरहेको थियो। हिमपहिरोपछि टोलीका १० जना आरोहीसँग सम्पर्क हुन सकेको छैन।
पाकिस्तानको पर्वतारोहणसम्बन्धी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) ले ब्रड पिकमा करिब ८ हजार ४७ मिटर उचाइमा हिमपहिरोले आरोहीहरूको टोलीलाई प्रभावित पारेको जानकारी प्राप्त भएको जनाएको छ।
एसीपीका अनुसार उक्त टोलीमा प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेका पाँच नेपाली आरोही, पाकिस्तानका सोहेल साखी, ओमानकी पर्वतारोही नथिरा, अमेरिकी आरोही म्यालोरी गाइस, चीनका वाङ तथा अर्का एक विदेशी आरोहीसहित १० जना रहेका छन्।
हिमपहिरोपछि सम्पूर्ण टोली सम्पर्कविहीन भएको एसीपीले जनाएको छ।
एसीपीका अध्यक्ष मेजर जनरल इरफान अरशदसहित क्लबको उच्च नेतृत्वले उद्धारका लागि पाकिस्तान सरकारका उच्च अधिकारी तथा सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
मौसम र सञ्चालनको अवस्थाले अनुमति दिएसम्म हेलिकोप्टरसहित उपलब्ध सबै उद्धार स्रोत तत्काल परिचालन गर्ने प्रयास भइरहेको बताइएको छ।
एसीपीले सबै आरोहीको सुरक्षित उद्धारका लागि प्रार्थना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता जनाएको छ।
हिमपहिरो गएको १३ घण्टापछि मात्र जानकारी
घटनामा एउटा गम्भीर प्रश्न पनि उठेको छ। केही स्रोतका अनुसार बिहीबार बिहान करिब ९ः२० बजे ठूलो हिमपहिरो गएको थियो। तर घटनाबारे राति करिब १० बजेसम्म जानकारी बाहिर आएन।
अल्पाइन क्लब अफ पाकिस्तानकी नाइला कियानीले करिब राति १० बजे मात्रै घटनाबारे जानकारी पाएको बताएकी छन्। उनका अनुसार तत्काल जानकारी प्राप्त भएको भए दिनमै हेलिकोप्टर घटनास्थलतर्फ पठाउन सकिन्थ्यो।
“हामी सबै स्तब्ध छौँ,” कियानीले भनेकी छन्।
ब्रड पिकमा त्यतिबेला चारवटा टोली आरोहणमा रहेका थिए। पाकिस्तानका सोहेल साखी र अमेरिकी आरोही म्यालोरीसहितको टोली, निर्मल पुर्जाको नेतृत्वमा रहेको एलिटएक्सपेड टोली, मिग्मा जी हाल के–२ मा रहेकाले उनको नेतृत्वबिना रहेको इम्याजिन नेपाल टोली तथा सेभेन समिट ट्रेक्सको टोली पहाडमा थिए।
आरोहीहरू सयौँ मिटर तल खसेको ट्र्याकिङ संकेत
सम्पर्कविहीन आरोहीहरूको अवस्था अझै स्पष्ट हुन सकेको छैन।
तर उपलब्ध ट्र्याकिङ उपकरणको विवरणले चिन्ताजनक अवस्था देखाएको छ। सबै आरोहीले बिहान करिब ९ः३० बजे आरोहण रोकेको र त्यसपछि सयौँ मिटर तल झरेको देखिएको बताइएको छ।
शुक्रबार दुईवटा हेलिकोप्टर उद्धारकर्मी र अक्सिजनसहित ब्रड पिकतर्फ उड्ने तयारी गरिएको छ।
इम्याजिन नेपालका अनुसार आरोहीहरू बुधबार क्याम्प–२ पुगेका थिए। उनीहरूको योजना बिहीबार क्याम्प–३ पुग्ने र केही समय विश्रामपछि शुक्रबार शिखरतर्फ अघि बढ्ने थियो।
हिमपहिरो क्याम्प–२ र क्याम्प–३ बीचको करिब ६ हजार ६६० मिटर उचाइमा गएको अनुमान गरिएको छ।
निर्मल पुर्जाले सामाजिक सञ्जालमा गरेको हालैको एक पोस्टअनुसार ब्रड पिक आरोहण उनको प्रारम्भिक योजनामा थिएन। उनी सुरुमा ग्यासेरब्रुम–२ मात्रै आरोहण गर्ने योजनामा पाकिस्तान गएका थिए।
तर आफ्ना ८ हजार मिटरभन्दा अग्ला हिमालका आरोहणको तथ्यांक हेर्दा ब्रड पिकसमेत आरोहण गरेपछि चो–ओयु मात्र बाँकी रहने पुर्जाले उल्लेख गरेका थिए।
उनले ब्रड पिक आरोहण गर्न सके इतिहासमै पहिलोपटक अक्सिजनबिना विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल दुईपटक आरोहण गर्ने व्यक्ति बन्ने लक्ष्य रहेको बताएका थिए।





































