काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–५ मा एनसेल फाउन्डेसनले निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ ।
प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत फाउन्डेसनले गत हप्ता उक्त शिविरको आयोजना गरेको हो । यस निःशुल्क शिविरमा १२० जनाभन्दा बढी स्थानिय महिलाहरुको सहभागिता थियो।
सहभागिमध्ये ९० जनाभन्दा बढिले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए ।
नेपाल क्यान्सर फाउन्डेसन र पुर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनद्वारा आयोजना गरिएको यो पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर एक कोशेढुङ्गा सावित भएको कम्पनीले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरु मध्ये पहिलो स्थानमा पर्दछ । सन् २०२२ मामात्रै २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाईएको थियो भने यस रोगको कारण १ हजार ३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए । एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६ हजार भन्दा बढी महिलाहरुको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ ।































