काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा डा। शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
तर संस्थापन पक्षसहितका शीर्ष नेताहरू महाधिवेशनमा सहभागी छैनन् । यता डा. कोइराला पक्षधर नेताहरूले भने छुट्टै भेला गरेका छन् । उनीहरूले पार्टी फुट्न दिन नहुने भन्दै कोइरालालाई पहल गर्न आग्रह गरेका छन् ।
‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने ढंगले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ,’ शर्माले भने ।
‘हामी पार्टी फुट्न दिनु हुँदैन भन्ने लाइनमा छौँ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेण्डा हाम्रै हो । बीचमा हाइज्याक भएको हो । समयमा अधिवेशन हुनुपर्छ भनेर हाम्रो टिमले भन्दै आएको हो । अधिवेशनको एजेण्डा त हाम्रै हो नि,’ उनले भने ।


































