काठमाडौं । अमेरिकासहित एशिया र यूरोपियन मुलुकमा नेपाली छुर्पीको माग बढ्दै गएको छ । नेपाली छुर्पी अमेरिका र यूरोपसहित विभिन्न २२ मुलुकमा ‘डग च्यू’ का नामबाट निर्यात हुने गरेको छ ।
चालु वर्षको अढाई महिनामा एक अर्बको छुर्पी ‘डग च्यू’ का नाममा तेस्रो मुलुक निर्यात भएको नेपाल छुर्पी व्यवसायी संघले जनाएको छ । यस्तै, अघिल्लो वर्ष ३ अर्ब ४० करोड रुपैयाँको धुर्पी निकासी भएकोमा गतवर्ष झण्डै ४ अर्ब रुपैयाँको निकासी भएको संघको तथ्यांक छ ।
संघका अनुसार मुलुकभरी ४ सयभन्दा बढी छुर्पी उद्योगबाट वार्षिक १४ लाख किलोभन्दा बढी छुर्पी उत्पादन हुदै आएको छ ।
युरोप, अमेरिका, क्यानडा, जापानलगायतका देशमा कुकर पाल्ने शौखिनहरुले कुकुरलाई हड्डी वा अन्य कृतिम वस्तुको सट्टामा फ्याट बिनाको छुर्पी दिने गर्छन् ।
कोशी प्रदेशका पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर र धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादित छुर्पी कुकुरको खाजाको रुपमा अमेरिका, क्यानडा, युरोप, जापान, कोरिया लगायतको देशमा निकासी हुँदै आएको छ।
नेपालले पछिल्लो समय विभिन्न २२ मुलुकमा छुर्पी निकासी गर्दै आएको छ । त्यसमध्ये नेपाली छुर्पीको मुख्य बजार अमेरिका हो । भन्सार विभागको तथ्याङक अन्ुुसार पछिल्लो ६ महिनामा अमेरिकामा मात्र १ अर्ब २५ करोड रुपैयाँको ६ लाख ३० हजार ४९१ किलो छुर्पी निकासी भएको तथ्याङक छ ।
अमेरिकापछि क्यानाडामा ८ करोड ६३ लाख रुपैयाँको ३८ हजार ६२७ किलो छुर्पी निर्यात भएको छ । त्यसैगरी बेलायतमा २ करोड २८ लाख रुपैयाँको ९ हजार ७८ किलो, दक्षिण कोरियामा १ करोड ८ लाख रुपैयाँको ४ हजार ८६७ किलो, जापानमा ९२ लाख रुपैयाँको ४ हजार ८६९ किलो, हङकङमा ५९ लाख रुपैयाँको ६ हजार ९८७ किलो, ताइवानमा ४९ लाख रुपैयाँको २ हजार १३९ किलो र मेलेसियामा ४७ लाख रुपैयाँको २ हजार १४७ किलो छुर्पी निर्यात भएको छ ।
त्यसैगरी सिंगापुरमा ४० लाख रुपैयाँको, ग्रिसमा ३७ लाख रुपैयाँको, नेदरल्यान्डमा ३६ लाख रुपैयाँको, युएईमा २७ लाख रुपैयाँको, थाइल्यान्डमा १३ लाख रुपैयाँको, फिलिपिन्सको ११ लाख रुपैयाँको, चीनमा ६ लाख रुपैयाँको, फ्रान्समा २ लाख रुपैयाँको, न्यूजिल्यान्डमा १ लाख ६३ हजार रुपैयाँको र कतारमा १ लाख ३४ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ ।
यस्तै भारत, स्लोभाकिया, इटली र फिनल्यान्डमा पनि नेपाली छुर्पीको माग उच्च हुने गर्दछ ।




































