काठमाडौँ । कार्तिक ९ गते देखि सञ्चालनमा आएको तिहार फ्लोरा एक्स्पो २०८१ मा अवलोकन कर्ताको भिड दैनिक रूपमा बढ्न थालेको नर्सरी व्यवसायी संघ नेपालले जानकारी दिएको छ। 'तिहारको उत्सव फूलको महोत्सवु भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरिरहेको तिहार फ्लोरा एक्स्पो कार्तिक १३ गते सम्म चल्ने छ ।
तिहारलाई लक्षित गरी संघले गोदावरी, मखमली लगायत नर्सरी फलफूल कृषि बन तथा जडीबुटीहरूको प्रदर्शनी गरिरहेको छ । नर्सरी र नर्सरीजन्य उत्पादनको आयात र परनिर्भरतालाई कम गरी स्वदेशी उत्पादनलाई वृद्धि गर्न र तिहारको अवसरमा हुने फूलहरूको आयात कम गर्न पाँच दिने बृहत् फूल तथा नर्सरीजन्य प्रदर्शनीले सहयोग पुग्ने संघको भनाई छ ।
मेलामा ६५ वटा व्यवसायीक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टल सहित जम्मा ७० वटा स्टल रहेका छन् । त्यस्तै, मेलामा ३५ हजारले अवलोकन गर्नुको साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा समेत राखिएको आयोजकको भनाई छ ।
मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल बिरुवाहरू लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल समेटिएका छन्।
एक्सपो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ। दोस्रो तिहार फ्लोरा एक्सपोको प्रवर्द्धक संस्थाहरूमा पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ भने विशेष सहयोगी कम्पनीहरूमा शलोम एग्रीकल्चर, सेवा म्यानुफयाक्चरिङ, अर्गानिक बायो फर्टिलाइजर र ग्रिस्मा नर्सरी रहेका छन् ।
'नर्सरी व्यवसायको विकास, विस्तार एवम् स्वच्छ वातावरणसहित आय र रोजगारू' भन्ने नारा सहित देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरी व्यवसायीहरूको हक हित र व्यावसायिक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले २०८० असोज १५ गते नर्सरी व्यवसायी संघ स्थापना भएको थियो । संघले गत वर्षबाट तिहार लक्षित गर्दै तिहार फ्लोरा एक्सपोको आयोजना गरेको हो ।
संस्थाले व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरूको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र सहित सम्मान गर्ने संघको भनाई छ ।

(फोटो: विजय फुयाँल आर्थिक भ्वाईस सम्पादक )


































