काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा बाग्मती प्रदेशमा मात्रै बिपद्जन्य प्रकोपका कारण ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपदबाट तीन अर्ब ४४ करोड बढीको आर्थिक क्षति भएको छ ।
बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरका अनुसार सो अवधिमा तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० रूपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ ।
यस्तै काठमाण्डौ उपत्यकाबाहेकका १० जिल्लामा एक सय ९१ जनाको ज्यान भएको छ । यो विपद्मा एक सय ७७ जनाको ज्यान गएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ ।
बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१र८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीले बगाएर ११ जना र डुबेर नौ जनाको ज्यान गएको हो ।
यस्तै यही अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एकरएक जनाको ज्यान गएको छ । यस अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेका छन् ।
यही अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।
विपदबाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।


































