काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाएको छ। बैंकले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले हालको चुक्ता पूँजीका आधारमा विद्यमान सेयरधनीलाई लक्षित गरी नयाँ सेयर जारी गर्ने योजना बनाएको छ। यसअनुसार दुई कित्ता सेयर बराबर एक कित्ता हकप्रद सेयर प्रदान गरिनेछ।
कुल ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको हकप्रद सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरिनेछ। आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि निष्काशन कार्य अघि बढाइने बैंकले जनाएको छ।
हकप्रदबाट उठ्ने पूँजी बैंकको वित्तीय आधार सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात सुधार गर्न तथा दीर्घकालीन व्यावसायिक विस्तारमा उपयोग गरिने योजना रहेको छ।
यससम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र बिक्री प्रबन्धक कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।





































