काठमाडौं । रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने तयारी अघि बढाएको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारीका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।
यसका लागि रुपाकोट रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार क्यापिटलले रिसोर्टलाई आईपीओ निष्कासनको तयारीदेखि प्रक्रिया पूरा हुँदासम्म आवश्यक परामर्श तथा व्यवस्थापकीय सेवा उपलब्ध गराउनेछ।
कास्कीको रुपा गाउँपालिका–६, मैदानमा रहेको रुपाकोट रिसोर्टले प्रचलित कानुनी प्रक्रिया पूरा गरी सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको हो।
पोखराको पर्यटन क्षेत्रमा परिचित गन्तव्यका रूपमा विकास भइरहेको रिसोर्टबाट हिमाली दृश्यका साथै रुपा र बेगनास तालको दृश्यावलोकन गर्न सकिन्छ। प्राकृतिक वातावरण र आतिथ्य सेवाका कारण रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको कम्पनीले जनाएको छ।
रिसोर्टमा आवास, खानपान, मनोरञ्जन तथा विभिन्न कार्यक्रम आयोजना गर्न सकिने सुविधा उपलब्ध छन्। पारिवारिक भ्रमण, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा अन्य समारोहका लागि समेत रिसोर्टले सेवा प्रदान गर्दै आएको छ।
एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवामार्फत कम्पनीलाई सार्वजनिक संस्थामा रूपान्तरणदेखि आईपीओ निष्कासनसम्म आवश्यक परामर्श तथा सहजीकरण गर्दै आएको जनाएको छ।





































