काठमाडौं । मिस नेपाल २०२६ को उत्कृष्ट २४ फाइनलिस्टमध्ये प्रतियोगी नम्बर १९ बिभुषा बस्नेत यतिबेला आफ्नो आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक सोचका कारण विशेष चर्चामा छिन् । हिमाली जिल्ला सोलुखुम्बु को प्रतिनिधित्व गर्दै मिस नेपालको मञ्चमा उभिएकी बिभुषाले सौन्दर्यलाई केवल बाहिरी आकर्षणमा सीमित नराखी समाज परिवर्तनको माध्यमका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएकी छन् ।
कम उमेरदेखि नै आत्मनिर्भर बन्ने यात्रामा लागेकी बिभुषाले १७ वर्षको उमेरदेखि आफ्ना आर्थिक जिम्मेवारी आफैं वहन गर्दै आएकी छन् । यही अनुभवले उनलाई महिलाको आर्थिक स्वतन्त्रता र युवा सशक्तीकरणको पक्षमा आवाज उठाउन प्रेरित गरेको हो ।
मिडिया क्षेत्रमा सक्रिय बिभुषा पत्रकारिता, कार्यक्रम सञ्चालन तथा सञ्चारसँग जोडिँदै सामाजिक मुद्दाहरूमा निरन्तर बोल्दै आएकी छन् । महिला हिंसाका पीडितहरूसँग काम गर्ने क्रममा उनले आर्थिक रूपमा सक्षम महिला नै आत्मनिर्भर र निर्णयक्षम बन्न सक्ने निष्कर्ष निकालेकी छन् । त्यसयता उनी महिला तथा युवाको आर्थिक सशक्तीकरणलाई आफ्नो प्रमुख अभियानका रूपमा अघि बढाइरहेकी छन् ।
बिभुषा हाल लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ आई नेपालकी उपाध्यक्ष (Vice District President) का रूपमा समेत नेतृत्वदायी भूमिकामा सक्रिय छिन् । विभिन्न सामाजिक अभियान, युवा नेतृत्व विकास तथा स्वयंसेवी गतिविधिमार्फत उनले समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्दै आएकी छन् ।
उनका अनुसार मिस नेपाल केवल एउटा उपाधि होइन, जिम्मेवारी र प्रभावको मञ्च हो । त्यसैले उनले आफ्नो यात्रालाई व्यक्तिगत सफलताभन्दा पनि धेरै युवतीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने अवसरका रूपमा लिएकी छन् ।
“सपना देख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई पूरा गर्ने साहस, निरन्तर मेहनत र उद्देश्य पनि उत्तिकै आवश्यक हुन्छ,“ भन्ने विश्वास बोकेकी बिभुषा आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ प्रतिनिधित्व गर्ने लक्ष्यमा केन्द्रित छिन् ।
मिस नेपाल २०२६ को प्रतिस्पर्धामा बिभुषा बस्नेतले आफ्नो व्यक्तित्व, नेतृत्व, सामाजिक उत्तरदायित्व र आत्मविश्वासमार्फत दर्शक तथा शुभेच्छुकहरूको ध्यान आकर्षित गरिरहेकी छन् । प्रतियोगिताको अन्तिम चरणतर्फ अघि बढ्दै गर्दा उनी आफूलाई परिवर्तनको संवाहक र नयाँ पुस्ताकी प्रेरणादायी युवतीका रूपमा स्थापित गर्ने प्रयासमा जुटेकी छन् ।






































