काठमाडौँ । आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै गएपछि ज्यान जोगाउन नसकिएको हो।
अस्पतालले यसअघि नै पत्रकार सम्मेलनमार्फत उनको अवस्था अत्यन्त नाजुक रहेको जानकारी दिएको थियो। चिकित्सकहरूले कुनै पनि बेला थप जटिलता आउन सक्ने भन्दै उच्च सतर्कताका साथ उपचार भइरहेको बताएका थिए।
आगोले नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। विशेषगरी अनुहार र श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेकाले उपचार निकै चुनौतीपूर्ण बनेको चिकित्सकहरूको भनाइ थियो। उनलाई वीर अस्पतालको बर्न सघन उपचार कक्षमा भेन्टिलेटरमार्फत उपचार गरिँदै आएको थियो।
उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय चिकित्सक टोली खटिएको थियो, जसमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक र नर्सिङ कर्मचारीहरू सहभागी थिए।
स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि अवस्था स्थिर नभएकाले स्थानान्तरण सम्भव हुन सकेन। अन्ततः चिकित्सकहरूको प्रयास सफल हुन नसक्दा उनको निधन भएको हो।





































