काठमाडौँ - आगामी आर्थिक वर्ष २०८३/८४ का लागि देशका ६ महानगरपालिकाले कुल ५३ अर्ब तीन करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। सार्वजनिक बजेटमध्ये काठमाडौँ महानगरपालिकाले सबैभन्दा ठूलो २५ अर्ब ८८ करोड रुपैयाँको बजेट ल्याएको छ भने विराटनगर महानगरपालिकाको बजेट सबैभन्दा कम तीन अर्ब ५६ करोड रुपैयाँ रहेको छ।
विराटनगर, वीरगन्ज र ललितपुर महानगरपालिकाले बुधबार बजेट सार्वजनिक गरेका हुन्। भरतपुर महानगरपालिकाले सोमबार बजेट ल्याएको थियो भने काठमाडौँ र पोखरा महानगरपालिकाले यसअघि नै बजेट सार्वजनिक गरिसकेका थिए। कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरूले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ।
काठमाडौँ महानगरपालिकाले कुल बजेटमध्ये १५ अर्ब ३१ करोड रुपैयाँ (६१ प्रतिशत) पूर्वाधार विकासमा विनियोजन गरेको छ। सामाजिक विकासका लागि दुई अर्ब ४२ करोड, सुशासन तथा अन्तरसरकारी सम्बन्धका लागि दुई अर्ब १३ करोड, प्रशासन तथा कार्यालय सञ्चालनका लागि चार अर्ब ७१ करोड र आर्थिक विकासका लागि ५४ करोड १८ लाख रुपैयाँ छुट्याइएको छ।
ललितपुर महानगरपालिकाले सात अर्ब ४९ करोड रुपैयाँको बजेट ल्याएको छ। यसमध्ये चार अर्ब २४ करोड रुपैयाँ पुँजीगत र तीन अर्ब २५ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरिएको छ। महानगरले वडा तहका कार्यक्रम तथा क्षेत्रगत विकास आयोजनालाई प्राथमिकतामा राखेको जनाएको छ।
पोखरा महानगरपालिकाले सात अर्ब १५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ, जुन चालु आर्थिक वर्षको तुलनामा एक अर्ब १९ करोड रुपैयाँ कम हो। कुल बजेटमध्ये तीन अर्ब ९४ करोड रुपैयाँ चालु खर्च र तीन अर्ब २१ करोड रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
भरतपुर महानगरपालिकाले पाँच अर्ब ५१ करोड रुपैयाँको बजेट ल्याएको छ, जुन चालु आर्थिक वर्षभन्दा बढी हो। महानगरले दुई अर्ब चार करोड रुपैयाँ आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको छ भने सामाजिक सुरक्षा तथा अन्तरसरकारी हस्तान्तरणका कार्यक्रमका लागि मात्रै एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
वीरगन्ज महानगरपालिकाले चार अर्ब ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा एक अर्ब १९ करोड रुपैयाँ बढी हो। बजेटमध्ये दुई अर्ब ४० करोड रुपैयाँ चालु खर्च, एक अर्ब ९६ करोड रुपैयाँ पुँजीगत खर्च र पाँच करोड रुपैयाँ वित्तीय व्यवस्थापनका लागि छुट्याइएको छ।
विराटनगर महानगरपालिकाले तीन अर्ब ५६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ, जुन चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँ कम हो। महानगरले पूर्वाधार विकासका लागि सबैभन्दा बढी एक अर्ब ६० करोड रुपैयाँ विनियोजन गर्दै वडा तथा महानगरस्तरीय आयोजना, बहुवर्षीय प्राथमिकता प्राप्त योजना र पुराना दायित्व भुक्तानीमा खर्च गर्ने जनाएको छ।





































