काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन तोकिएको छ। कानुनी व्यवस्था अनुसार असार २५ गतेसम्म सबै सरकारी निकायले आफ्नो भुक्तानी प्रक्रिया टुङ्ग्याइसक्नुपर्ने भएकाले बिहीबार मध्यरातसम्म डिजिटल प्रणालीमार्फत सबै भुक्तानी सम्पन्न गर्नुपर्ने भएको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार आज राति १२ बजेदेखि चालु आर्थिक वर्षका लागि हुने सबै भुक्तानी रोक्का हुने उप–महालेखा नियन्त्रक ओमप्रसाद रिजालले जानकारी दिएका छन्। यो व्यवस्था स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्मका सबै निकायमा समान रूपमा लागू हुनेछ।
निर्धारित समयभित्र भुक्तानी हुन नसकेमा त्यस्ता खर्च आगामी आर्थिक वर्षको बजेटबाट मात्र गर्न सकिने बताइएको छ।
सरकारले चालु वर्षका लागि विनियोजन गरेको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँमध्ये बुधबारसम्म १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको करिब ७८ प्रतिशत हो।
खर्च संरचनाअनुसार चालुतर्फ विनियोजित बजेटको ८७ प्रतिशतभन्दा बढी खर्च भइसकेको छ भने वित्तीय व्यवस्थातर्फ करिब ९० प्रतिशत खर्च भएको देखिन्छ। तर पुँजीगत खर्च भने करिब ४० प्रतिशतमा सीमित रहँदा विकास निर्माणसम्बन्धी काममा अपेक्षाकृत प्रगति हुन नसकेको देखिएको छ।
भुक्तानीको अन्तिम समय नजिकिँदै जाँदा पछिल्ला दिनहरूमा सरकारी खर्च उल्लेख्य रूपमा बढेको छ। केही दिनयता दैनिक अर्बौँ रुपैयाँ बराबरको भुक्तानी भइरहेको तथ्याङ्कले देखाउँछ। यद्यपि पुँजीगततर्फको दैनिक खर्च भने अन्य शीर्षकको तुलनामा कम नै रहेको छ।
अन्तिम दिन नजिकिएसँगै विशेषगरी भौतिक पूर्वाधारसँग सम्बन्धित कार्यालयहरूमा भुक्तानी प्रक्रिया टुङ्ग्याउने चटारो बढेको छ। सडक विभाग, सहरी विकास तथा भवन निर्माण विभागलगायत निकायमा काम सम्पन्न भएका आयोजनाको भुक्तानी मिलाउने गतिविधि तीव्र देखिएको छ।






































